काठमाडौं – माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा प्रदेश प्रशासनिक पुनःसंरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
उच्चस्तरीय प्रदेश प्रशासनिक पुनःसंरचना निर्देशक समितिका संयोजक तथा मधुसुदन पौडेललाई अध्ययन समितिका संयोजक तथा नेपाल सरकारका पूर्व सचिव विमल वाग्लेले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
समितिमा पूर्व सचिवहरू रेश्मीराज पाण्डे, गोपीकृष्ण खनाल र जिवनप्रभा लामा सदस्यका रूपमा रहेका थिए भने प्रदेश सचिव पूर्णबहादुर दर्जी सदस्य सचिवका रूपमा रहेका थिए।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संरचना र प्रदेश व्यवस्थामाथि विभिन्न समयमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै प्रदेश प्रणाली लोकतान्त्रिक प्रतिस्पर्धा र विकासको आधार भएको बताए। उनले प्रदेश सरकारको संरचना अझ प्रभावकारी, चुस्त र दुरुस्त बनाउन अध्ययन समितिको गठन गरिएको स्पष्ट पारे।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय भएका विभिन्न राजनीतिक घटनाक्रमबीच पनि प्रदेश सरकारले विकासका कामलाई गतिशील रूपमा अघि बढाइरहेको बताए। उनले प्रदेश संरचनालाई अझ प्रभावकारी बनाउँदै विकासको प्रतिस्पर्धालाई सुदृढ गर्ने उद्देश्यले समिति गठन गरिएको उल्लेख गरे।
उनका अनुसार समितिले दिएको सुझावका आधारमा प्रदेश प्रशासनिक संरचनालाई थप सुधार गर्दै प्रभावकारी बनाउने दिशामा सरकार अघि बढ्नेछ।


























































