काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले गत भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा काठमाडौं उपत्यकामा खटिएका तीनजना डीएसपीलाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।


ADVERTISEMENT


भिड नियन्त्रणमा उत्कृष्टता प्रदर्शन गरेको र आफ्ना कार्यालयमा उच्छृङ्खल समूहले आक्रमण गर्दा जवाफी कारवाही गर्दै ‘उत्कृष्ट कमान्ड’ गरेको विष्लेषण गर्दै आयोगले डीएसपीहरूलाई पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


पुरस्कारको सिफारिस हुनेहरुमा डीएसपीहरु नवराज ढुंगाना, मधुकुमार थापा र सुनिलजंग शाह छन् । तीनजना डीएसपीलाई पुरस्कृत गर्न सिफारिस गरिएको जाँचबुझ आयोगले जनाएको छ ।

प्रहरी वृत्त थिमिमा कार्यरत ढुंगानाले प्रदर्शनकारीहरुले आक्रमण सुरू गरेपछि भदौ २४ मा दिनभर जवाफी कारवाही गरेका थिए । त्यस दिन साँझ मात्रै डीएसपी ढुंगाना आफ्नो कार्यालयको हतियार, गोलीगठ्ठा र सवारीसाधान लिएर प्रहरी प्रभाग बालकोटमा गएका थिए । डीएसपी सुनिलजंग शाहले पटक–पटक आक्रमण प्रयास हुँदा पनि प्रहरी वृत मालीगाउँको अस्थायी कार्यालय, हतियार र सवारी साधन जोगाएको जाँचबुझ आयोगको निष्कर्ष छ ।

प्रहरी वृत्त कालीमाटीका इन्चार्ज मधुकुमार थापाले भदौ २४ मा प्रदर्शनकारीको आक्रमणबाट कालीमाटीको कार्यालय जोगाउने प्रयास गरे । कालीमाटी प्रहरी वृत्तमा चौतर्फी आक्रमण भएपछि आफ्नो टिम, हतियार र गोलीगठ्ठा जोगाएर उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा गएका थिए ।

भदौ २३ र २४ मा भएको प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गरेर गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ मा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । जेनजी अगुवाहरुले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।