काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई दिन बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेप्से उच्च अंकले घटेपछि आज उत्पादन तथा प्रशोधन मात्रै उपसूचक ०.२५ प्रतिशतले बढेको छ भने बाँकी १२ वटै उपसूचक राताम्मे बन्न पुगेको छ।
आज सबैभन्दा धेरैं बैंकिङ्ग उपसूचक १.६१ प्रतिशतले, इन्भेष्टमेण्ट उपसूचक १.५२ प्रतिशतले र अन्य उपसूचक १.०९ प्रतिशतले घट्न पुगेको छ।
शेयरबजारमा उत्साह नदेखिंदा २११ कम्पनीहरूको शेयरमूल्यमा गिरावट आएको छ भने ४८ वटा कम्पनीहरूको मूल्य भने बढ्न पुगेको छ। आज ४ वटा कम्पनीको मूल्य भने यथावत रहेको छ। पाँच वटा कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागको छ।



























































