हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१८ अन्तर्गत फुर्केचौर–दियाबाती खण्डमा पर्ने बरौली खोलामा पक्की पुल निर्माण हुने भएको छ। लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयवासी, विद्यार्थी तथा सर्वसाधारणले वर्षायाममा ठूलो सास्ती खेप्दै आएका थिए।
विशेषगरी वर्षात्का बेला खोला बढेपछि विद्यालय जाने विद्यार्थीहरू जोखिम मोलेर खोला तर्न बाध्य हुने अवस्था रहेको थियो। पुल अभावका कारण स्थानीय आवतजावत मात्र होइन, दैनिक जनजीवनसमेत प्रभावित हुँदै आएको थियो।
२०७६ सालदेखि निरन्तर प्रयासपछि बरौली खोलामा पक्की पुल निर्माण हुने खबर सार्वजनिक भएसँगै स्थानीयवासीमा खुशी छाएको छ। यसलाई गाउँको दीर्घकालीन विकास र सुरक्षित आवतजावतका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
स्थानीयहरूले यस उपलब्धिलाई हेटौंडा–१८ को पूर्वाधार विकासका लागि सकारात्मक कदम भन्दै खुशी व्यक्त गरेका छन्। साथै, विकास निर्माणका कामलाई अघि बढाएको भन्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँप्रति बधाई तथा आभार व्यक्त गरिएको छ।
स्थानीयवासीका अनुसार, “ज्यान जहाँ भए पनि मन आफ्नै गाउँको विकासतर्फ नै हुन्छ।” बरौली खोलामा पक्की पुल निर्माणले फुर्केचौर–दियाबाती क्षेत्रका बासिन्दाको लामो समयदेखिको अपेक्षा पूरा हुने विश्वास गरिएको छ।
पुल निर्माणका लागि १ करोड १० लाख ३९ हजार रुपैयाँको लागत अनुमानसहित प्रक्रिया अघि बढाइएको छ।



























































