विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।


ADVERTISEMENT


विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको मूल्यांकनका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो।


ADVERTISEMENT

# # #


प्रदेश प्रहरीका अनुसार लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नं. ०५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै कुनै अप्रिय घटना हुन नदिई निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, Gen-Z आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियारको खोजतलास तथा हिरासतबाट फरार प्रतिवादी पक्राउ गर्ने क्रममा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। सो क्रममा इलाका प्रहरी कार्यालय दमक नजिकको खाली जग्गाको झाडीबाट Y13487 नम्बरको मार्का–४ राइफल एक थान बरामद गरिएको तथा विभिन्न स्थानबाट १९ जना प्रतिवादी पक्राउ गरिएको जनाइएको छ।

फागुन महिनामा ३५ वटा मुद्दा दर्ता भएकामध्ये Gen-Z आन्दोलनसम्बन्धी १० वटा मुद्दा दर्ता भई सबै फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा क्षति भएको इलाका प्रहरी कार्यालय दमकको भवन मर्मत, फर्निचर तथा विद्युतीय उपकरण व्यवस्थापनका लागि स्थानीय निकाय, संघसंस्था र स्थानीयवासीसँग समन्वय गरी उनले सक्रिय भूमिका निर्वाह गरेको बताइएको छ।

त्यसैगरी, ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको, चालु तथा पेन्डिङ मुद्दाका मिसिल पुनःनिर्माणमा समन्वय गरिएको तथा विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्न समेत उनले योगदान पुर्‍याएको प्रदेश प्रहरीले जनाएको छ।

उत्कृष्ट कार्य सम्पादन गर्दै नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाएको मूल्यांकनका आधारमा उनलाई २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो।