काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले निर्वाचित गरेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट लगातार दोस्रो पटक विजयी भएका थिए । ३३ वर्षीय शाहीले यसअघिको प्रतिनिधिसभामा समेत राप्रपाको प्रमुख सचेतकको भूमिकामा काम गरिसकेका छन् ।
यस्तै बैठकले पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय भएको छ । समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी ओली प्रखर वक्ताका रुपमा चिनिन्छन् । उनी पहिलो पटक संघीय सांसद बनेकी हुन् ।
यसपटक मुस्किलले राष्ट्रिय पार्टी बनेको राप्रपाले गत निर्वाचनमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ सिटमा जित निकालेको थियो ।


























































