काठमाडौं – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुने वित्तकै अवरोध भएको छ । नेकपा एमाले सांसदहरूले बैठक सुरु हुनेवित्तिकै उठेर आपत्ति जनाएका हुन् ।
एमालेका सांसदहरू उठेपछि सभा चलाइरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए ।
सरकाले नेपालको संविधान मौलिक हक विपरीत काम भएको भन्दै एमालेका सांसद बरालले धारणा राखेका छन् । एमाले सांसदहरू पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सांसद बरालले आपत्ति जनाएका हुन् ।
पक्राउको विरोधमा शान्तिपूर्ण विरोध गर्दा सरकारले बर्बर दमन गरेको आरोप लगाए । उनले गृहमन्त्रीलाई यस विषयमा छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरे । सांसद बरालले ओली र लेखकलाई रिहाइ र शान्तिपूर्ण आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरे ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शीर्ष नेतालगायत नवनिर्वाचित सांसद सहभागी छन् ।


























































