काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा हेर्दाहेर्दैमा परेको छ आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएको थियो।
आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका हुन्। बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । भोलि निरन्तर बहस हुनेछ ।
यसअघि सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको कारण देखाउ आदेश जारी गरेको थियो भने विपक्षीबाट लिखित जवाफ समेत आएको थियो । त्यससँगै बहस सुरु भएको थियो ।
जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते निवेदन दर्ता गराएकी थिइन् ।
जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।


























































