काठमाडौँ – ३८औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजक विराट गोल्ड कप ट्रष्टले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरस्थित शहिद मैदानमा आयोजना हुने विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता आगामी चैत्र २८ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।
फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप भन्ने नारासहित आयोजना हुन लागेको यस प्रतियोगिता रात्रिकालीन रूपमा खेलाइनेछ । प्रतियोगितामा विभागीय टोलीहरू—नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन टिमसहित नेपालका ७ तथा भारतको १ गरी कुल ८ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले सबै तयारी पूरा भइसकेको बताउँदै प्रतियोगिता सफल बनाउन सम्पूर्ण पक्षसँग सहयोगको अपेक्षा गरिएको बताए ।
उनका अनुसार प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ । यस वर्षको प्रतियोगिताका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।


























































