काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदमा दुई जनाको उम्मेदवारी परेको छ । बिहीबार उपसभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी दर्ता भएको हो ।


ADVERTISEMENT


राप्रपाकी लामाको प्रस्तावकमा ज्ञान बहादुर शाही रहेका छन् भने समर्थकमा ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरी रहेका छन् । आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएपछि राप्रपा संसदीय दलका नेता शाहीले सबै दलसंग कुरा गरेर नै दलका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराएको बताए ।


ADVERTISEMENT

# # #


रास्वपा सभापति रवि लामिछानले आफुलाई सहयोग गर्ने भनेपछि अघि बढेको भन्दै निर्वाचनको दिन परिणाम देखिने उनको भनाई छ ।

यता रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा आरेन राई र समर्थकमा अशोक कुमार चौधरी र अम्विका देवी संग्रौला रहेका छन् ।

रुबी कुमारीले उम्मेदवारी दर्ता गर्दा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी समेत संसद सचिवालय पुगेका थिए । उपसभामुखमा उम्मेदवारी दिएपछि रुबी कुमारीले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै भूमिका अनुसारको जिम्मेवारी पुरा गर्न सक्षम रहेको बताए ।

रास्वपाले समर्थन जनाएसंगै उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने निश्चित भएको छ । रुबी कुमारीलाई कांग्रेस लगायतका प्रतिपक्षीको समेत समर्थन हुने बताइएको छ । उपसभामुख पदका लागि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुँदैछ ।