हेटौंडा – बागमती प्रदेश सरकारले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग आग्रह गरेको छ।
मंगलबार बसेको बागमती प्रदेशसभाको १७औँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई संविधान प्रदत्त अधिकार पूर्णरूपमा हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका हुन्।
मुख्यमन्त्री बानियाँले निर्वाचनताका जनकपुरमा प्रधानमन्त्री शाहले व्यक्त गरेको ‘काठमाडौं अधिकार माग्न धाइरहनु पर्दैन, पशुपतिनाथको दर्शन गर्न मात्रै जाने’ भन्ने अभिव्यक्ति स्मरण गराउँदै, अब सो प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने बताएका छन्।
उनले लोकतान्त्रिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वमा सरकार सञ्चालन हुँदा समेत प्रदेशले पाउनुपर्ने अधिकारका लागि पटक–पटक आग्रह गर्नुपरेको उल्लेख गर्दै, अहिलेको सरकारबाट भने प्रदेशले आफ्नो संवैधानिक अधिकार प्राप्त गर्ने विश्वास व्यक्त गरे।
“प्रदेशलाई संविधानले दिएको अधिकार हामीले पटक–पटक माग गर्दा पनि पूर्ण रूपमा प्राप्त हुन सकेन,” मुख्यमन्त्री बानियाँले भने, “तर अहिलेको जनताको सरकार, संघीयताप्रति प्रतिबद्ध सरकारबाट निर्वाचनअघि सुनेको, बुझेको र विश्वास गरेको आधारमा अब ती अधिकार प्रदेशमा आउनेमा हाम्रो भरोसा छ।”
मुख्यमन्त्री बानियाँले प्रदेशका अधिकारहरू यथाशीघ्र ‘फास्ट ट्र्याक’मा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै संघीय सरकारलाई त्यसतर्फ ठोस कदम चाल्न आग्रह गरे।


























































