ललितपुर – लगनखेलस्थित जिल्ला प्रमुख डोजोद्वारा आयोजित ‘पाँचौँ कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता २०८२’ भव्य रूपमा सम्पन्न भएको छ।


ADVERTISEMENT


प्रतियोगितामा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुँदै उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशलाई “खेलको महोत्सव” का रूपमा विकास गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताए। उनले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममार्फत विभिन्न विधामा सक्षम खेलाडी उत्पादन गर्ने कामलाई प्राथमिकता दिएको उल्लेख गरे।

यस अवसरमा मुख्यमन्त्री बानियाँले प्रतियोगिताका परिकल्पनाकार तथा पूर्वमन्त्री मीनकृष्ण महर्जनप्रति विशेष धन्यवाद व्यक्त गर्दै यस्ता पहलहरूले खेलकुद क्षेत्रलाई ऊर्जा दिएको बताए।

साथै, उनले अब आउने नीति तथा कार्यक्रममा खेलाडीहरूका लागि विशेष योजना ल्याइने स्पष्ट पार्दै खेलाडीको हौसला, अवसर र पहुँच अभिवृद्धिमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे।

उनले गाउँ–बस्ती स्तरबाटै प्रतिभाशाली खेलाडी पहिचान गरी जिल्ला, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्‍याउने रणनीति अघि सारिएको जानकारी दिँदै “नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव उचो बनाउने लक्ष्यसहित प्रदेश सरकार प्रतिबद्ध छ,” भने।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विजेता खेलाडीहरूलाई कार्यक्रममै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।