हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली तथा बागमती प्रदेशवासी दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानलाई साझा पहिचानको रूपमा व्याख्या गरेका छन्। उनले नयाँ वर्षको सुरुवातले नेपालीबीच बन्धुत्व, एकता र आपसी सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै समृद्ध प्रदेश निर्माणमा दृढ रहेको बताएका छन्। उनले गरिबमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी, विकासमुखी र जनमुखी लक्ष्यका साथ संविधानले परिकल्पना गरेको संघीयताको कार्यान्वयनमा तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्दै अघि बढिरहेको जानकारी दिए।
उनले भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही र जिम्मेवार शासनमार्फत सामाजिक सद्भाव कायम राख्दै जनअपेक्षाअनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सबै नेपाली एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।
सन्देशको अन्त्यमा मुख्यमन्त्री बानियाँले नयाँ वर्ष २०८३ सबैका लागि सुख, शान्ति, समृद्धि, खुसी र सुस्वास्थ्यको वर्ष बनोस् भन्ने कामना गरेका छन्।


























































