काठमाडौँ – झापा जिल्लाको गौरादह नगरपालिका–१ मा श्री जनता माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ ।
भारत सरकारको सहयोगमा बन्ने उक्त भवनको बिहीबार कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
उक्त भवनका लागि भारत सरकारले ५.८ करोड आर्थिक सहयोग गर्ने भएको छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । उनले नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरुका लागि सिकाईको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।



























































