काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा पूरा गर्न तथा आवश्यक सुधारका लागि सरकारले अध्यादेश सिफारिस गरेको बताएको छ ।
बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन नभइ आवश्यक सुधारका लागि सरकारले अध्यादेश ल्याएको बताएको हो । जनताले ठूलो अपेक्षाका साथै रास्वपालाई बिजयी गराएको भन्दै जनताको अपेक्षा अनुसार छिटो काम गर्न सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ ।
उनले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई सच्चाएर सक्षमहरुलाई नियुक्ती गर्नका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताए । सभापति लामिछाने जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले सुकुम्वासी बस्ती हटाइएको भन्दै कसैलाई घरबारविहीन नबनाउने उल्लेख गरे । घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने उनको भनाइ छ ।
रास्वपा सभापति लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुने जानकारी दिए । रास्वपाले १०० दिनमा गर्नुपर्ने कामका बिषयमा लामिछानले जनतासंग गरिएका प्रतिवद्धता पुरा गर्ने गरि काम भइरहेको धारणा राखे ।


























































