राहुल गुप्ता, वीरगञ्ज – आगामी स्थानीय तह निर्वाचनको माहोल नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी भित्र वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि युवा नेता तेज शमशेर जबरा को सम्भावित उम्मेदवारीबारे चर्चा तीव्र बनेको छ।
वीरगञ्जको राजनीतिक वृत्तमा पछिल्ला दिनहरूमा जबराको नाम अग्रस्थानमा आउन थालेपछि स्थानीय राजनीति थप तातिएको छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवा अनुहारका रूपमा परिचित जबराले पछिल्लो समय वीरगञ्जका विभिन्न सामाजिक, युवा तथा विकाससम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका छन्। यही सक्रियताका कारण उनलाई वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधि पात्रका रूपमा हेर्न थालिएको स्थानीयहरूको भनाइ छ।
वीरगञ्ज महानगरपालिकामा लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहँदै आएको अवस्थामा अहिले नयाँ पुस्ता र वैकल्पिक सोचप्रति युवापुस्ताको आकर्षण बढिरहेको विश्लेषण गरिएको छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेज शमशेर जबराको सम्भावित उम्मेदवारीले स्थानीय राजनीतिक समीकरणमा नयाँ बहस सुरु गराएको छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार वीरगञ्जको विकास, सुशासन, युवा सहभागिता तथा आधुनिक नगर व्यवस्थापनका एजेन्डालाई लिएर चुनावी मैदानमा नयाँ अनुहार आउने सम्भावनाले मतदातामाझ उत्सुकता थपिएको छ।
यद्यपि पार्टीले आधिकारिक रूपमा उम्मेदवार घोषणा गरिसकेको छैन। तर सामाजिक सञ्जालदेखि चिया पसलसम्म तेज शमशेर जबराको सम्भावित उम्मेदवारीबारे चर्चा बढ्दो क्रममा रहेको देखिन्छ।
अब हेर्न बाँकी छ— राष्ट्रिय स्वतन्त्र पार्टी ले वीरगञ्ज महानगरपालिकाको नेतृत्वका लागि अन्ततः कसलाई अघि सार्छ र आगामी निर्वाचनमा स्थानीय मतदाताले कस्तो निर्णय गर्छन्।


























































