काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तह जनप्रतिनिधि प्रशिक्षण भेलाको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले नेपाली कांग्रेसभित्र देखिएका असमझदारी र चुनौतीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै अघि बढ्नुपर्ने बताएका छन्।
बानियाँले बागमती प्रदेशअन्तर्गत दुई तहका जनप्रतिनिधिहरूबीच सञ्चालन हुन लागेको प्रशिक्षण कार्यक्रम नियमित कार्यक्रमभन्दा फरक र विशेष उद्देश्यसहित आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रमको उद्देश्य नेपाली कांग्रेसका जनप्रतिनिधिहरूलाई थप दिक्षित, शिक्षित, जिम्मेवार र जनउत्तरदायी बनाउनुका साथै हालसम्म भएका अभ्यास र अनुभवहरूलाई एक–अर्कासँग आदान–प्रदान गराउनु रहेको छ।


ADVERTISEMENT



उनले स्थानीय तहदेखि प्रदेश तहसम्मका जनप्रतिनिधिहरूबीच समन्वय, सहकार्य र अनुभव आदान–प्रदानले जनतालाई दिने सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रदेशसभा सदस्य, महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा तहका जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले नेपाली कांग्रेस लोकतन्त्र, संघर्ष, त्याग र जनआन्दोलनको नेतृत्व गरेको ऐतिहासिक पार्टी भएको उल्लेख गरे। देशमा सक्रिय रहेका विभिन्न राष्ट्रिय दलहरूमध्ये कांग्रेस अहिले पनि जनविश्वासको प्रमुख केन्द्रका रूपमा रहेको उनको भनाइ थियो।
उनले अहिले पार्टीभित्र देखिएका असमझदारी, तिक्तता र विवादलाई ठूलो विषय बनाएर अगाडि बढ्नु भन्दा संवाद र सहकार्यबाट समाधान खोज्नु नै उपयुक्त बाटो भएको बताए। “पार्टीभित्र प्रतिस्पर्धा स्वाभाविक हो, तर त्यो स्वस्थ र संगठन बलियो बनाउने खालको हुनुपर्छ,” उनले भने, “गुट–उपगुट बनाएर छुट्टाछुट्टै भेला गर्ने र आन्तरिक एकतामा असर पार्ने गतिविधिबाट टाढा रहनुपर्छ।”
मुख्यमन्त्री बानियाँले पार्टीको अद्यावधिक प्रणालीबारे पनि धारणा राख्दै आधुनिक र डिजिटल प्रविधिको प्रयोगलाई समयको आवश्यकता भएको बताए। उनले मोबाइल तथा अनलाइन प्रणालीमार्फत सदस्यता र संगठनसम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रिया वैज्ञानिक अभ्यास भएको उल्लेख गरे।
“निर्वाचन प्रणालीदेखि राजनीतिक गतिविधिसम्म अहिले डिजिटल माध्यममा गइसकेको छ,” उनले भने, “पार्टीभित्रको अद्यावधिक प्रक्रिया पनि व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउन सकिन्छ। कति साथी सक्रिय हुनुहुन्छ, कति नयाँ जिम्मेवारीमा आउनुभयो भन्ने कुरा स्पष्ट रूपमा देखिन्छ। यसलाई विवादको विषय बनाउन आवश्यक छैन।”
बानियाँले बागमती प्रदेशका स्थानीय तहहरूले सञ्चालन गरिरहेका जनमुखी कार्यक्रमहरूको पनि चर्चा गरे। उनले विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूले गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य बीमा, सुत्केरी सहायता, मृत्यु सहायता लगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताए।


ADVERTISEMENT

# # #



“यी कार्यक्रमहरूको उद्देश्य गरिब, विपन्न र पिछडिएको समुदायलाई प्रत्यक्ष राहत दिनु हो,” उनले भने, “शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्दै सामाजिक न्यायलाई बलियो बनाउने काम नेपाली कांग्रेस नेतृत्वका सरकारहरूले गरिरहेका छन्।”
कार्यक्रमका क्रममा मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसका नेता गगनकुमार थापा को खुलेर प्रशंसा गरे। उनले गगन थापालाई युवापुस्ताको ढुकढुकी, आम नेपाली जनताको आशा र देशलाई आवश्यक परेको सक्षम नेतृत्वका रूपमा चित्रित गरे।
उनले भने, “सर्वोच्च अदालतले २४ घण्टाभित्र शेरबहादुर देउवा लाई नेपालको प्रधानमन्त्री बनाउँदा सबैले मान्ने, तर त्यही सर्वोच्च अदालतले गगनकुमार थापालाई नेपाली कांग्रेसको सभापतिमा वैधता दिँदा नमान्ने कुरा उचित होइन।”
बानियाँले गगन थापा विचारमा परिपक्व, संगठनमा सक्रिय र जनसरोकारका मुद्दामा स्पष्ट धारणा राख्ने नेताका रूपमा स्थापित भएको बताए। “गगनकुमार थापा युवाहरूको ढुकढुकी मात्र होइन, आम नेपाली जनताको ढुकढुकी भएको व्यक्तित्व हो,” उनले भने, “उहाँ आशालाग्दो नेता हुनुहुन्छ। यो देशलाई चाहिने, देशको सच्चा अभिभावक बन्न सक्ने र देश बनाउन ल्याकत राख्ने सक्षम तथा अब्बल नेता गगनकुमार थापा हो।”
उनले गगन थापा पार्टीभित्र पनि आकर्षणको केन्द्र बनेको उल्लेख गर्दै कांग्रेसभित्र युवापुस्ताको भरोसा र आशाको प्रतीकका रूपमा स्थापित भएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता, बागमती प्रदेशका पदाधिकारी, मन्त्रीहरू, प्रदेशसभा सदस्य, १३ जिल्लाका जिल्ला सभापति, महानगर तथा स्थानीय तहका प्रमुख–उपप्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधि तथा नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले कार्यक्रमका प्रमुख अतिथि गगनकुमार थापा, उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, बागमती प्रदेशका प्रमुख उपसभापति चन्द्र महर्जन, प्रदेश सरकारका मन्त्रीहरू, पार्टी पदाधिकारी, जिल्ला सभापतिहरू, जनप्रतिनिधि तथा पत्रकारहरूलाई धन्यवाद व्यक्त गरेका थिए।