काठमाडौं – गण्डकी प्रदेशको मनाङ जिल्लास्थित नासोँ गाउँपालिका–५ मा अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको करिब ५ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत नासोँ गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।
शिलान्यास कार्यक्रममा नासोँ गाउँपालिकाका अध्यक्ष गुरुङसहित स्थानीय सरोकारवालाले भारत सरकारद्वारा उपलब्ध गराइँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ अस्पताल भवनले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल र भारतबीचको बहुआयामिक तथा घनिष्ठ सहकार्यलाई थप मजबुत बनाउने माध्यमका रूपमा यस्ता परियोजनाहरू महत्वपूर्ण रहेको उल्लेख गरिएको थियो। साथै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत पूर्वाधार विकास, स्थानीय आवश्यकता सम्बोधन तथा नेपाल सरकारको विकास र समृद्धिको लक्ष्य हासिल गर्ने प्रयासमा भारत सरकारको निरन्तर सहयोग प्रतिबिम्बित भएको बताइएको छ।




























































