काठमाडौं – कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत व्यावसायिक नमुना नवप्रवर्तन विधामा उच्चतम प्लाटिनम अवार्ड प्राप्त गरेको छ।
बैंकले ग्राहक पहिचान तथा अनुपालन कार्यप्रवाह सम्बन्धी नवप्रवर्तनात्मक पहलमार्फत उत्कृष्ट प्रदर्शन गरेपछि उक्त सम्मान प्राप्त गरेको जनाएको छ।
इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले अपनाएका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणकारी अभ्यासहरूको मूल्यांकन तथा सम्मानका लागि परिचित छ। यस वर्ष विभिन्न नौ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए।
कुमारी बैंकले आफ्नो ग्राहक पहिचान तथा अनुपालन कार्यप्रवाह प्रणाली मार्फत ग्राहक पहिचान प्रक्रियालाई अझ छरितो, सुरक्षित र प्रभावकारी बनाएको मूल्यांकनका आधारमा प्लेटिनम सम्मान हासिल गरेको हो। बैंकका अनुसार उक्त प्रणालीले नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र भरपर्दो बनाउन योगदान पुर्याएको छ।
डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत ग्राहक सेवामा सुधार ल्याउने बैंकको प्रयासलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भएको बैंकले जनाएको छ। यस उपलब्धिले बैंकको नवप्रवर्तन, सुरक्षा तथा ग्राहककेन्द्रित बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।
कुमारी बैंकले आगामी दिनमा पनि डिजिटल समाधानहरू विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहने जनाएको छ।



























































