काठमाडौं – नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल मा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा नेपाल बैंक र नयाँ दिल्लीको सरिता विहारस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता सम्पन्न भएको छ।


ADVERTISEMENT


सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीले इन्द्रप्रस्थ अपोलो अस्पतालका विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले तथा इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार यस सम्झौताले नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सहज र सुलभ रूपमा प्राप्त गर्न मद्दत पुग्नेछ। साथै, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले ग्राहककेन्द्रित सेवा विस्तारलाई निरन्तरता दिँदै आएको छ। हाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र युवा जनशक्तिको माध्यमबाट गुणस्तरीय तथा प्रतिस्पर्धी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको बताएको छ। यस किसिमका साझेदारीले ग्राहकलाई बैंकिङ सेवासँगै स्वास्थ्य सेवामा समेत थप सुविधा उपलब्ध गराउने विश्वास बैंकले व्यक्त गरेको छ।