गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार गण्डकी प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षका लागि करिव ३३ अर्बको बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटमध्ये पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात ६० दशमलव ६८ प्रतिशत र चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात ३८ दशमलव ५६ प्रतिशत रकम छुट्याइएको मन्त्री शेरचनले बताएका छन्। त्यस्तै वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताएका छन्।
त्यस्तै बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने र राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको मन्त्री शेरचनले उल्लेख गरेका छन् । त्यस्तै उनले शसर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैया, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको जानकारी दिएका छन् ।
प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको भन्दै चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि २ अर्ब रुपैयाँ नगद मौज्दात रहने मन्त्री शेरचनले बताएका छन् । उल्लेखित स्रोतहरुबाट खर्च व्यहोर्नेगरि न्यून रहेको १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गर्ने व्यवस्था मिलाइएको उहाले जानकारी दिएका छन् ।


























































