काठमाडौं – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।


ADVERTISEMENT


सोमबार कोशी प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लिङ्थेपले बताएका छन् । त्यस्तै उनले खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ संकलन हुने अनुमान रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरि सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, अतिरिक्त सशर्त अनुदानतर्फ ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड, रोयल्टी बापत प्राप्त हुने ४१ करोड र सोझै भुक्तानीबाट प्राप्त हुने २० करोड स्रोतका रूपमा परिचालन गरिने उनले बताएका छन् ।

उल्लेखित स्रोतहरुबाट खर्च व्यहोर्नेगरि न्यून रहेको ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट ब्यहोरिने समेत मन्त्री लिङ्थेपले जानकारी गराएका छन् । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रुपैयाँ र कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले ६ अर्ब २८ करोड रुपैयाँ बिनियोजन गरेको छ ।