काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन्।
शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ।
उनले आफ्नो सिद्धान्तबाट पार्टी विचलित नहुने भन्दै दुविधामा बस्न जरुरी नभएको बताएका छन् । राप्रपाको इतिहास र पुराना नेतृत्व गौरव पार्टीका लागि गौरब भएपनि विगतको नेतृत्वका छोड्नुपर्ने थुप्रै कुराहरू रहेको उनको भनाइ छ ।
उनले संगठन सञ्चालनका लागि पुराना कुराहरुको अनुकरण गरे पार्टी फुट्ने र जोडिने श्रृखला चलिराख्ने तर्क गरेका छन् । व्यक्तिगत टक्कर र अहंमको जाँतोमा राप्रपालाई पारेका कारण नै पार्टी र मुलुकमा संकट पैदा भएको उनले बताएका छन् ।
उनले आगामी मङ्सिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको भन्दै महाधिवेशनले देशलाई नयाँ सन्देश दिने धारणा राखेका छन्।
बैठकमा राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक तोरण बहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धि निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि नियमावली प्रस्तुत गरेका छन् भने राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले पार्टीको सचिवालय सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका छन् ।



























































