काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको स्वर्ण महोत्सव उद्घाटन समारोह आज काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सभापतित्व गरेका थिए।
वि.सं.२०३२ सालमा स्वर्गीय तोलाराम डुगडद्वारा स्थापना गरिएको नाडाले आफ्नो ५० वर्षे यात्रा पूरा गरेको अवसरमा ऐतिहासिक स्वर्ण महोत्सव मनाइरहेको हो। महोत्सवको अवसरमा राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रम, र्याली तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, पूर्वअध्यक्ष, सदस्य कम्पनी तथा सञ्चारकर्मीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो।
महोत्सवका अवसरमा नाडाका पूर्वअध्यक्षहरूलाई विशेष सम्मानसमेत गरिएको छ। असार १३ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी रूपमा काठमाडौंसहित सातै प्रदेशमा विविध कार्यक्रम सञ्चालन गरिने नाडाले जनाएको छ।
५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरेको, २१ जना अध्यक्षले नेतृत्व गरिसकेको तथा ‘नाडा अटोमोबाइल ट्रेड डाइरेक्टरी’, ‘नाडा अटो न्यूज’ र ‘नाडा अटो ड्राइभ क्यालेन्डर’का विभिन्न संस्करण प्रकाशित गरिसकेको जनाएको छ। साथै आगामी भदौ महिनामा १८औँ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारीसमेत भइरहेको छ।
नाडाले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ प्रमाणित संस्थाका रूपमा काम गर्दै आएको छ। साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपद्का समयमा सहयोगी भूमिका निर्वाह गर्दै आएको पनि जनाएको छ।
कार्यक्रमको सञ्चालन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंहानियाले गरेका छन्।



























































