काठमाडौं- राजेन्द्र लिङ्देनले देशी तथा विदेशी शक्तिहरूबाट विभिन्न किसिमको घेराबन्दी भइरहे पनि आफू मैदान नछाड्ने बताएका छन्। उनले कठिन परिस्थितिमा पनि पार्टीलाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


ADVERTISEMENT


शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतदेखि नै पार्टीमाथि देशी–विदेशी शक्तिहरूको दबाब र घेराबन्दी रहँदै आएको दाबी गरे। यस्ता चुनौतीका बीच पार्टी छाडेर जानेहरूप्रति आफूले कुनै टिप्पणी नगर्ने तर राप्रपाको यात्रा नरोकिने स्पष्ट पारेका छन्।


ADVERTISEMENT

# # #


उनले केही नेताले पार्टी परित्याग गरे पनि त्यसबाट राप्रपाको अभियान कमजोर नहुने बताए। बरु चुनौतीकै बीच पार्टीलाई थप मजबुत बनाउने अवसरका रूपमा आफूले लिएको उनको भनाइ छ।

लिङ्देनले पछिल्लो निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलहरू जनविश्वास गुमाउँदै गएको दाबी गर्दै राप्रपा भने राष्ट्रिय राजनीतिक शक्तिका रूपमा निरन्तर स्थापित भइरहेको उल्लेख गरेका छन्। देशमा वैकल्पिक राजनीतिक शक्तिको खोजी भइरहेका बेला राष्ट्रलाई सही दिशा दिन सक्ने क्षमता राप्रपामा मात्रै रहेको उनको दाबी छ।

उनले युवाको जोश र अग्रजहरूको अनुभवलाई एकसाथ अघि बढाउने नीति राप्रपाले लिएको भन्दै सबै वर्ग, समुदाय र पुस्तालाई समेटेर पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्। नेतृत्वले जिम्मेवारी र उत्तरदायित्वका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले उमेरलाई नेतृत्वको मापदण्ड बनाउन नहुने धारणा पनि राखेका छन्। विश्वका धेरै मुलुकमा ३०–४० वर्ष उमेर समूहका व्यक्तिहरूले सफलतापूर्वक राष्ट्रको नेतृत्व गरिरहेको उदाहरण दिँदै नेपालमा पनि उमेरभन्दा क्षमता, दृष्टि, इमानदारी र कार्यक्षमतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले राजनीतिक परिवर्तनका लागि कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क र जनविश्वासलाई अझ बलियो बनाउन सक्रिय रूपमा लाग्न समेत निर्देशन दिएका छन्।