काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शिक्षामा गरिएको लगानी नै राष्ट्रको भविष्य निर्माणको आधार भएको बताएका छन्।
मीड भ्याली माध्यमिक विद्यालयद्वारा आयोजित स्वागत कार्यक्रम २०८३ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गुणस्तरीय, व्यावहारिक र प्रविधिमैत्री शिक्षामार्फत सक्षम तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको व्यक्तित्व विकास, नैतिक मूल्य, सीप र नेतृत्व क्षमताको विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्। प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै विद्यालयको भौतिक पूर्वाधार, प्रविधिको विस्तार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहयोग गर्दै आएको पनि उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री बानियाँले विद्यार्थीहरूलाई अनुशासित, मेहनती र जिम्मेवार नागरिक बन्न आग्रह गर्दै शिक्षक र अभिभावकलाई बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा साझा जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन्।
कार्यक्रममा विद्यालय परिवारले प्रमुख अतिथि बानियाँलाई स्वागत तथा सम्मान गरेको छ भने शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको छ।



























































