काठमाडौं- सरकारले सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक पेश गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा तत्काल संशोधन आवश्यक परेकाले संसद अधिवेशन नभएको अवस्थामा जारी गरिएको अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याइएको जानकारी दिएका छन्।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले ‘सहकारी पहिलो संशोधन विधेयक, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता ले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ तथा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री सोविता गौतम ले ‘सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३’ पनि सदनमा प्रस्तुत गरेकी छिन्।
त्यसैगरी, कानूनमन्त्री गौतमले प्रधानमन्त्रीका तर्फबाट महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन समेत प्रतिनिधिसभामा पेश गरेकी छिन्।



























































