काठमाडौं- विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्तालाई जलवायु परिवर्तन तथा जलवायु न्यायका विषयमा सशक्त बनाउने उद्देश्यसहित ‘विराटनगर जलवायु सिकाइ गोष्ठी २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।


ADVERTISEMENT


दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलिन्टियर्स विराटनगरको आयोजनामा भएको एकदिने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, स्वयंसेवक तथा युवा अभियन्ताको उत्साहजनक सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रमको उद्घाटन गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले जलवायु न्यायको अभियानमा युवाको नेतृत्वदायी भूमिकाको आवश्यकता औँल्याउँदै आगामी दिनमा उनीहरूलाई थप सशक्त बनाइने बताएका छन्।

गोष्ठीको पहिलो प्राविधिक सत्रमा क्लाइमेट रिस्क एन्ड रेजिलिएन्स ल्याबका विनोद पराजुलीले तथ्य, प्रमाण र समुदायका अनुभवका आधारमा जलवायु सञ्चारलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिएका थिए। सहभागीलाई समूहगत अभ्यास, खेल तथा छलफलमार्फत जलवायुसँग सम्बन्धित अवधारणा र शब्दावलीबारे व्यावहारिक सिकाइ गराइएको थियो।

यस्तै दोस्रो सत्रमा हरिन नेपालका अधिवक्ता तथा जलवायु अभियन्ता तनुजा पाण्डेले ‘सडकको सङ्गठन, हाम्रो भविष्यको पुनःप्राप्ति स् जलवायु न्यायको अग्रपङ्क्तिमा लड्ने नेपाली युवाको परिचालन’ विषयमा आफ्ना अनुभव साझा गरिन्। उनले ‘सेभ निजगढ’ अभियानको उदाहरण प्रस्तुत गर्दै प्रभावकारी अभियान सञ्चालन, जनसहभागिता बढाउने रणनीति तथा नेतृत्व विकासका पक्षमा प्रशिक्षण दिइन्।

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई समूहमा विभाजन गरी स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको योजना तयार गर्न लगाइएको थियो। आयोजकका अनुसार उत्कृष्ट योजनालाई आगामी दिनमा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराइनेछ, जसले युवा र बालबालिकालाई जलवायु न्यायको अभियानमा सक्रिय नेतृत्व गर्न थप प्रेरित गर्ने अपेक्षा गरिएको छ।