चितवन–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तस्कर र भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेसन चलाउने बताएका छन् । निर्माणको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सार्वजनिक गर्न थापाले पत्रकारहरुलाई आह्वान पनि गरेका छन् ।


ADVERTISEMENT


चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेला उदघाटन गर्दै मन्त्री थापाले भने, ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने, यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् । यस्ता ठेकेदार तस्करहरु हुन्, देशको समृद्धिको बाधक हुन् । यिनी खलनायकहरुको फोटो सार्वजनिक गर्नुस् ।’


ADVERTISEMENT

# # #


गृहमन्त्री थापाले विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई भने नायकको रुपमा अगाडि ल्याउन आवश्यक भएको बताए । त्यस्ता ठेकेदारहरुलाई सरकारले आवश्यक सहयोग पनि गर्ने गृहमन्त्री थापाको भनाइ छ ।

तस्कर र भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गर्दै उनले श्रम नगरी अकुत सम्पती आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गर्नेहरु विकासको बाधक भएको बताए ।

अहिले पनि देशमा अस्थिरता ल्याउने, नेपाली जनताको शान्तिको चाहनालाई खलबलाउने काम भैरहेको भन्दै उनीहरुविरुद्ध सरकारले कदम उठाउने चेतावनी थापाले चेतावनी दिए । ‘धर्मको नाममा, अस्थिरता मच्चाउने नाममा, निरंकुशता फर्काउने नाममा जे जस्ता गतिविधी भैरहेका छन् ती स्वीकार्य छैनन्,’ गृहमन्त्री थापाले भने, ‘यस्ता प्रतिगामीहरुलाई ठीक गर्ने काम हुन्छ ।’

उनले विकास र समृद्धिको लागि सरकारले नीति नियम बनाइरहेको जानकारी पनि दिए । डेढ दशकभित्र मुलुक समृद्ध बनाउने र विगतका बेथिति अन्त्य गर्ने योजनाका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ ।

आधुनिक प्रविधि प्रयोग गरी देश विकासको काममा आफ्नो स्तरबाट सरकारलाई सहयोग गर्न उनले पत्रकारहरुलाई आह्वान पनि गरे । लोकतन्त्र उल्टाउनका लागि केही व्यक्तिहरुले अझै पनि षडयन्त्र गरिरहेको बताउँदै मन्त्री थापाले लोकतन्त्रको सुरक्षाका लागि सन्चारकर्मीहरुलाई चनाखो हुन सुझाव दिए । पत्रकारिता देशको लागि हुनुपर्ने र सन्चारकर्मी पनि कुनै व्यक्तिको नभइ संघीय लोकतान्त्रिक गणतन्त्रका लागि प्रतिवद्ध हुनुपर्ने उनको धारणा छ ।

पत्रकारिता देश र जनताको समृद्धिको लागि हुनुपर्दछ भन्दै गृहमन्त्री थापाले भने, ‘भ्रष्टहरुको अप्रेशन गर्न जरुरी छ । श्रम नगरीकन अकुत सम्पती कमाएकाहरुको कालो धनमाथि प्रहार गर्न जरुरी छ । देशको चौथो अंग पत्रकारहरु यसमा क्रियाशिल हुन आवश्यक छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, चितवनका विभिन्न नगरपालिकाका प्रमुख, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल लगायतले पनि सम्बोधन गरेका थिए ।