काठमाडौं- राहदानी छपाइसम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।


ADVERTISEMENT


सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थुनछेक बहसपछि उक्त आदेश दिएको हो। अदालतले महानिर्देशक अर्याललाई पाँच लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीलाई चार लाख रुपैयाँ तथा शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाईं र ठेकेदारका नेपाल एजेन्ट मणिन्द्रराज मल्ललाई जनही तीन–तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


यस्तै, लेखा अधिकृत तुलसीप्रसाद आचार्य र उपसचिव राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न पनि अदालतले आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा भ्रष्टाचार भएको आरोपमा राहदानी विभागका महानिर्देशकसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध करिब १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।