काठमाडौं- विराटनगरमा नेपाल प्रहरीको कार्यसम्पादन अभिलेख प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले एकदिने “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको आयोजनामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे प्रमुख अतिथि रहेका थिए।
उनले अनुशिक्षणले प्रदेशभरका प्रहरी इकाइहरूको दैनिक कार्यसम्पादन अभिलेखीकरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
अनुशिक्षणमा नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी उपरीक्षक राजन भुजेल, प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे र राजकुमार लामाले कार्यसम्पादन अभिलेखका लागि विकास गरिएको सफ्टवेयरको प्रयोग, तथ्याङ्क प्रविष्टि तथा पारदर्शी मूल्याङ्कन प्रणालीबारे प्रशिक्षण दिएका छन्।
कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय, प्रदेशस्तरीय तथा “क” स्तरसम्मका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ।



























































