काठमाडौं – सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखमा कर्णाली नदीमा खसेको २४ घण्टा बितिसक्दा पनि गाडी फेला पर्न सकेको छैन। गाडीमा कति यात्रु सवार थिए भन्ने विवरणसमेत अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT


कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा बिहीबार बिहान करिब ११ः३० बजे कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको थियो।


ADVERTISEMENT

# # #


दुर्घटनापछि खोज तथा उद्धार जारी रहे पनि गाडी नदीभित्रै बेपत्ता छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीमा पाँचदेखि छ जना यात्रु सवार रहेको अनुमान गरिएको भए पनि वास्तविक संख्या अझै पुष्टि हुन सकेको छैन। यात्रुको विवरण संकलन तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुर्खेतबाट साङ्गेतडासम्म पुग्ने क्रममा गाडीले विभिन्न चेकपोस्ट पार गरे पनि यात्रुको आधिकारिक अभिलेख नहुँदा संख्या यकिन गर्न कठिन भएको हो।

घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतबाट पुगेको गोताखोर टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र अन्य सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार वर्षापछि नदीको बहाव बढ्नु, पानी धमिलो हुनु र दुर्घटनास्थल अत्यन्त भिरालो भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलसम्म पुग्नसमेत कठिन भएकाले खोजी कार्य प्रभावित भएको उनले बताए।

हालसम्म घटनास्थलबाट गाडीका केही सिट र चार–पाँच वटा मोबाइल फोन मात्र फेला परेका छन्।

दुर्घटनामा ज्यान गुमाएका एक जनाको शव भने भिरमा अड्किएको अवस्थामा फेला परेको छ। मृतक कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।