काठमाडौं – भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्रदान गरिएको छ।


ADVERTISEMENT


ललितपुरस्थित महाविहारमा आयोजित कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे।


ADVERTISEMENT

# # #


कार्यक्रममा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक), सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत करिब १३ करोड ७८ लाख रुपैयाँको लागतमा सम्पन्न गरिएको हो। परियोजनाको प्राविधिक परामर्शदाताका रूपमा इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई तथा स्थानीय समुदायसँग समन्वय गरी काम गरेको थियो। पुनर्निर्माण सम्पन्न भएपछि परियोजनाको उद्घाटन २०८० चैत ९ गते गरिएको थियो।

युनेस्कोले यस परियोजनालाई समुदाय–केन्द्रित संरक्षण पद्धति अपनाउनुका साथै ऐतिहासिक नेवारी काष्ठकला र परम्परागत वास्तुकलाको मौलिकता जोगाउँदै आधुनिक भूकम्पीय सुरक्षा प्रविधिको प्रभावकारी प्रयोग गरेको भन्दै सम्मान प्रदान गरेको जनाएको छ। संरक्षण अवधिभर महाविहारमा सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक गतिविधि पनि अवरोधबिना निरन्तर सञ्चालन गरिएको उल्लेख गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूतावासका नियोग उपप्रमुख डा। राकेश पाण्डेले जेष्ठ वर्ण महाविहार परियोजनाले नेपाल–भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको बताए। उनले सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्स्थापनामा नेपालसँग सहकार्यलाई भारत सरकारले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महाविहारको संरक्षणमा भारत सरकारको सहयोगको प्रशंसा गर्दै ललितपुरका अन्य सम्पदा स्थलको पुनर्स्थापनामा समेत निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। उनले युनेस्कोलाई सम्मानका लागि धन्यवाद दिँदै पुरस्कार प्राप्तिमा संलग्न सबैलाई बधाईसमेत दिए।

२०७२ सालको गोरखा भूकम्पपछि भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि एक अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको थियो। सोही सहयोगअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय, एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था तथा १७ सांस्कृतिक सम्पदा स्थल पुनर्निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको भारतीय पक्षले जनाएको छ।