काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकासका लागि स्पष्ट कार्ययोजना बनाएर अघि बढाइएको बताएका हुन्।उनका अनुसार आगामी आर्थिक वर्षभित्र १३२ केभी क्षमताका ९ वटा, २२० केभी क्षमताका २ वटा तथा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत १ वटा गरी कुल १२ वटा विद्युत प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



मन्त्री श्रेष्ठले ऊर्जा विकाससम्बन्धी नयाँ कार्ययोजनाले नेपालको ऊर्जा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै यसलाई ‘गेम चेन्जर’ हुने बताएका छन्।सिँचाइतर्फ सतह सिँचाइको पहुँच नपुगेका तराई–मधेशका ३ लाख १८ हजार हेक्टर कृषि योग्य जमिनमा क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणाली विकास गर्ने कार्यक्रम सञ्चालनमा रहेको उनले जानकारी दिएका छन्।

उनले यस वर्ष १६४ वटा डिप ट्युबवेलको प्रणाली निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने र थप ६६ वटा डिप ट्युबवेल निर्माण गरिने बताएका छन्। मन्त्री श्रेष्ठले यसबाट तराई–मधेशमा सिँचाइ सुविधा विस्तार भई कृषि उत्पादन बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।