काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा ९एमाले० का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा बैठकमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले ‘सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि हुन्न?’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीपछि संसदमा विवाद उत्पन्न भई बैठक केही समयका लागि स्थगित भएको थियो।
बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोलेका ती शब्दहरू संसद्को आधिकारिक अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।
त्यसपछि बोल्दै सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोलेका कारण समस्या भएको स्वीकार गर्दै संसद्को विधि, प्रक्रिया र मर्यादाको सम्मान गर्ने बताए। उनले विपक्षी दलले उठाएका मागप्रति सरकारले गम्भीरता नदेखाएकै कारण लामो समयदेखि विरोध जारी राख्नुपरेको दाबी पनि गरे।
राईले विपक्षका मागलाई बेवास्ता नगरी संवाद र सहमतिका आधारमा समस्या समाधानतर्फ अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।



























































