काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन सम्पत्ति शुद्धीकरण कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन्।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एउटै निकायबाट सञ्चालन गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन संशोधन गरिएको जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र आर्थिक अपराध हेर्ने छुट्टै शक्तिशाली निकाय आवश्यक पर्ने विषयमा समेत छलफल भइरहेको बताएका छन्। अध्यादेशमार्फत संशोधन गरिएका केही व्यवस्थालाई पुनः कानुनी प्रक्रियामार्फत परिमार्जन गरी आवश्यक सुधार गरिएको पनि उनले स्पष्ट पारेका छन्।

विगतमा केही कानुनी प्रावधानको दुरुपयोग भएको उल्लेख गर्दै त्यस्ता समस्या समाधान गर्न ऐनमा आवश्यक संशोधन गरिएको मन्त्री वाग्लेले बताएका छन्।

उनले नेपाललाई अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिर निकाल्न वर्तमान सरकार गठन भएदेखि नै प्रभावकारी रूपमा काम भइरहेको र त्यसको सकारात्मक परिणाम देखिन थालेको दाबी गरेका छन्।

बैठकले सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण ऐन, २०६४ लाई संशोधनसहित पारित गरेको छ।