काठमाडौं – नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले वर्तमान सरकारको सय दिनको कार्यकालमै अधिनायकवाद र सर्वसत्तावादको प्रवृत्ति देखिएको आरोप लगाएकी छिन्।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार गठनसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता संकटमा परेको दाबी गरेकी हुन्।


ADVERTISEMENT

# # #


उनले सरकारले राष्ट्रिय हितका विषयमा गम्भीर कमजोरी देखाएको आरोप लगाउँदै नेपालले भारतको भूमि मिचेको भन्ने विवादास्पद अभिव्यक्तिले देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको बताएकी छिन्।

अर्यालले संविधान कुनै सरकारको क्षणिक राजनीतिक स्वार्थ वा सत्ता सन्तुलन मिलाउने साधन नभएको उल्लेख गर्दै यसको आधारभूत मर्ममाथि कुनै पनि प्रकारको सम्झौता गर्न नहुने बताईन्। लोकतान्त्रिक गणतन्त्र, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, संघीयता, समावेशी व्यवस्था र मौलिक हकमाथि आँच पुग्ने कुनै पनि कदम स्वीकार्य नहुने उनको भनाइ छ।

उनले प्रतिपक्षले विरोधका लागि मात्र विरोध नगरेको स्पष्ट पार्दै जनमतको सम्मान गर्दै सरकारलाई सही बाटोमा ल्याउन खबरदारी जारी राख्ने बताएकी छिन्।

अर्यालले सरकारलाई सय दिनको कार्यकालबाट गम्भीर पाठ सिक्न सुझाव दिँदै राजनीतिक प्रतिशोध, घृणाप्रेरित गैरन्यायिक गिरफ्तारी, अपारदर्शी समूहको प्रभावमा सरकार सञ्चालन, कानुन उल्लंघन तथा संसदप्रतिको गैरजवाफदेहिता अन्त्य गर्न आग्रह गरेकी छिन्।