काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपत्तिका बेला दलीय मतभेदलाई थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिने प्रतिवद्धता जनाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रचण्डले विपत्तिमा राजनीति नभइ राष्ट्रिय एकताको खाँचो रहेको समेत बताए । रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको गम्भीर संकटबाट पार पाउन सरकारलाई पार्टीको पूर्ण साथ र सहयोग रहने उहाले प्रतिवद्धता व्यक्त गरेका थिए ।
बाढीपहिरोका कारण भएको भयानक मानवीय र भौतिक क्षतिको यस कठिन घडीमा सबै पक्ष समझदारीका साथ अघि बढ्नुपर्ने र यस नकारात्मक घटनालाई राष्ट्रिय एकताको नयाँ सङ्कल्पमा बदल्नुपर्ने उनले बताए । उनले विपद् लगत्तै प्रधानमन्त्री तथा गृहमन्त्रीले देखाएको तत्परता र सक्रियता राम्रो देखिएको भन्दै राहत तथा उद्धारमा निरन्तर खटिनुपर्नेमा जोड दिए ।































































