काठमाडौं- नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सहभागी सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक (हेड कोच) नियुक्त गरेको छ।


ADVERTISEMENT


काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा आइतबार सम्पन्न प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रियामार्फत सबै टोलीका मुख्य प्रशिक्षकको टुंगो लगाइएको हो। नेपाल भलिबल संघ (एनभीए) को समन्वय तथा एनभीएलको नियमावलीअनुसार निष्पक्ष, पारदर्शी र सहमतिपूर्ण ढंगले प्रक्रिया सम्पन्न भएको लिग व्यवस्थापनले जनाएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सहभागी सबै फ्रेन्चाइजका आधिकारिक प्रतिनिधिहरूले प्रशिक्षक बाँडफाँड प्रक्रियाप्रति सहमति जनाउँदै आधिकारिक रूपमा हस्ताक्षर गरेका थिए।

नियुक्त मुख्य प्रशिक्षकहरूमा सगरमाथा स्म्यासर्सका लागि उत्सव खड्का, मधेश वारियर्सका लागि भारत यादव, काठमाडौं रेड्सका लागि निपा बहादुर बि.के., अन्नपूर्ण स्पाइकर किंग्सका लागि रमेश के.सी., कर्णाली शिवराजका लागि चन्द्रबहादुर कुँवर तथा खप्तड फाल्कन्सका लागि रुपेश कुमार बिष्ट नियुक्त भएका छन्।

नेपाल भलिबल लिगले नेपाली भलिबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ। लिग व्यवस्थापनले प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने नेपाल भलिबल संघ, फ्रेन्चाइज टोली तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबै पक्षको साथ र सहयोग रहने विश्वास व्यक्त गरेको छ।