काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन र आर्थिक रूपान्तरणमा सक्रिय योगदान गर्न आह्वान गरेका छन्।


ADVERTISEMENT


विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसँगको छलफल कार्यक्रममा मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुआत गरिरहेको बताएका छन्।


ADVERTISEMENT

# # #


मन्त्रालयको संस्थागत विकासका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिएका छन्।

उनले राष्ट्रको हित हुने तथा अर्थतन्त्रलाई बलियो बनाउने नवप्रवर्तनको विकास मन्त्रालयको प्रमुख उद्देश्य रहेको बताएका छन्। विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई नेपालसँग जोड्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

मन्त्रालयसँग आवश्यक प्राविधिक टोली, स्पष्ट कार्यसंरचना तथा कानुनी आधार अझै तयार नभइसकेको उल्लेख गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माण गर्ने र विश्वविद्यालयका अनुसन्धानलाई उत्पादनमुखी बनाउने लक्ष्य रहेको उनले जानकारी दिएका छन्।

त्यसैगरी नेपाली विश्वविद्यालयहरूमा इनोभेसन सेन्टर र सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनुसन्धानकर्ताका लागि आवासीय सुविधासहितका अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी भइरहेको उनले बताएका छन्।