काठमाडौं- सरकारविरुद्ध प्रदर्शनका क्रममा आफ्ना केन्द्रीय नेतृत्वसहितका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको आरआर क्याम्पसअगाडि प्रदर्शन गरेको छ।
बुधबार प्रदर्शनमार्गस्थित आरआर क्याम्पसअगाडि आयोजित विरोध कार्यक्रममा अनेरास्ववियुका विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘हामीलाई बोल्न दे सरकार’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यसअघि बुधबार बिहान सिंहदरबारअगाडि मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले अनेरास्ववियुसँग आबद्ध केही विद्यार्थी नेताहरूलाई नियन्त्रणमा लिएको थियो। सोही घटनाको विरोधस्वरूप अनेरास्ववियुले आरआर क्याम्पसअगाडि प्रदर्शन गरेको जनाएको छ।



























































