काठमाडौं-साउन महिनामा भगवान पशुपतिनाथको पूजा–आराधना तथा दर्शनका लागि आउने लाखौँ भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ।


ADVERTISEMENT


साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले विशेषगरी प्रत्येक सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थी र बोलबम यात्रुको उल्लेख्य भीड लाग्ने गर्दछ। यही भीडलाई व्यवस्थित गर्न कोषले सुरक्षा, दर्शन व्यवस्थापन र अन्य आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ।


ADVERTISEMENT

# # #


वैदिक मान्यताअनुसार भगवान शिवलाई जलधारा अर्पण गर्दा मनोकामना पूरा हुने विश्वास छ। त्यसैले प्रत्येक साउने सोमबार सुन्दरीजलस्थित वाग्मतीको मुहानबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाउने बोलबम यात्रुको ठूलो उपस्थिति रहने गर्छ।

तीर्थयात्रीको सहज दर्शनका लागि प्रत्येक साउने सोमबार चारवटा छुट्टाछुट्टै लाइन सञ्चालन गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार दर्शनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन आवश्यक जनशक्ति तथा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।