काठमाडौं- नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै पुराना होन्डा कारका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ अभियान सञ्चालन गरेको छ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका केही होन्डा मोडलमा प्रयोग गरिएको एसआरएस एयरब्याग इन्फ्लेटर (SRS Airbag Inflator) मा सम्भावित प्राविधिक समस्या देखिन सक्ने भएकाले उक्त अभियान सुरु गरिएको हो।
यो अभियानअन्तर्गत सिटी (City), सिभिक (Civic), सीआर–भी (CR-V), ज्याज (Jazz), इन्साइट (Insight), स्ट्रिम (Stream) र एकर्ड (Accord) लगायतका मोडल समेटिएका छन्।
प्रभावित सवारीसाधनका एयरब्यागको जाँच तथा आवश्यक परे इन्फ्लेटर प्रतिस्थापन पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
आफ्नो सवारीसाधन रिकल अभियानमा परेको छ वा छैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत वा नजिकको आधिकारिक सेवा केन्द्रमा सम्पर्क गरेर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकलाई सम्भावित जोखिमबाट जोगिन र सुरक्षित यात्रा सुनिश्चित गर्न यथाशीघ्र नजिकको होन्डा आधिकारिक सर्भिस सेन्टरमा पुगेर एयरब्याग परीक्षण गराउन कम्पनीले आग्रह गरेको छ। साथै सेवा बुकिङ तथा थप जानकारीका लागि कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ।



























































