काठमाडौं- दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ।


ADVERTISEMENT


दुवै कम्पनीबीच भएको सहकार्यले नेपालमा स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माण तथा विद्युतीय सवारीसाधन ईभी चार्जिङ प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरिनेछ। यसले दिनभर उत्पादन भएको अतिरिक्त सौर्य ऊर्जा सञ्चय गरी आवश्यकताको समयमा ईभी चार्जिङका लागि प्रयोग गर्न सकिनेछ। साथै, उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय विद्युत् ग्रिडमाथिको निर्भरता कम गर्दै नवीकरणीय ऊर्जाको उपयोग बढाउने अपेक्षा गरिएको छ।

दिगोका व्यवसाय प्रमुख एकीकृत ऊर्जा समाधान नवीन अधिकारीले घाम पावरसँगको सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माणतर्फ अर्को महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीलाई चार्जिङ स्टेशनसँग जोडेर विद्युतीय यातायातको भविष्यलाई अझ स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ।

त्यस्तै, घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले यस परियोजनाले सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको प्रभावकारी उपयोगमार्फत ऊर्जा दक्षता बढाउनुका साथै नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कम्पनीका अनुसार यो परियोजना भविष्यमा देशभर स्थापना हुने सफा ऊर्जामा आधारित ईभी चार्जिङ केन्द्रहरूको नमुना परियोजनाका रूपमा विकास गरिनेछ। स्थानीय रूपमा उत्पादन भएको सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउने, विद्युत् प्रणालीको स्थायित्व बढाउने, सञ्चालन खर्च कम गर्ने तथा ईभी प्रयोगकर्तालाई अविरल चार्जिङ सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।

दिगोले नेपालमा विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार तथा दिगो यातायात समाधानको क्षेत्रमा काम गर्दै आएको छ भने घाम पावरले सौर्य ऊर्जा समाधानमार्फत स्वच्छ ऊर्जा प्रवर्द्धनमा योगदान दिँदै आएको छ। दुवै कम्पनीले यस सहकार्यले नेपाललाई स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्यतर्फ अघि बढाउन तथा ‘नेट जिरो उत्सर्जन’ लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।