काठमाडौं- पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ तारिखसम्म हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई आइतबार बिदाइ गरिएको छ।


ADVERTISEMENT


नेपाल भलिबल संघले आयोजना गरेको एक कार्यक्रमबीच टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको हो। नेपालले पहिलोपटक विश्व वरीयतामा समावेश प्रतियोगितामा सहभागिता जनाउन लागेको छ।


ADVERTISEMENT

# # #


हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा ६ जना नयाँ खेलाडी समावेश छन्। टोलीको मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्ट रहेका छन् भने सहायक प्रशिक्षकको जिम्मेवारी रुपेश कुमार विष्टले सम्हालेका छन्।

प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान गरी कुल ६ राष्ट्रको सहभागिता रहनेछ। टोलीका प्रशिक्षक जगदीश प्रसाद भट्टले प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा हासिल गर्ने लक्ष्य रहेको बताएका छन्।

त्यस्तै, टोलीका कप्तान हरिहजुर थापाले सम्पूर्ण नेपालीको अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतियोगितामा नेपाललाई सम्मानजनक नतिजा दिलाउन सबै खेलाडी एकजुट भएर मैदानमा उत्रिने विश्वास व्यक्त गरेका हुन्।

नेपाली टोलीले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै आएको छ। काभा पुरुष भलिबल च्याम्पियनसिपलाई नेपाली टोलीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने अर्को महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।