काठमाडौं- सामसुङ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सञ्चालित सामसुङ इनोभेसन क्याम्पस (Samsung Innovation Campus–SIC) को कोडिङ तथा प्रोग्रामिङ तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नयाँ तालिमका लागि आवेदन पनि खुला गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सन् २०२५ डिसेम्बर २२ देखि २०२६ जुन ३० सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ तालिममा सहभागी युवाहरूले प्रोग्रामिङ, सफ्टवेयर विकास, परियोजनामा आधारित सिकाइ तथा उद्योगसँग सम्बन्धित व्यावहारिक अनुभव हासिल गरेका छन्। तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जुङले नेपालका युवामा रहेको प्रतिभा र सम्भावनालाई प्रविधिमार्फत अझ सशक्त बनाउने उद्देश्यले सामसुङ इनोभेसन क्याम्पस सञ्चालन गरिएको बताए।
उनले भने, “गत वर्ष नेपाल आएपछि मैले यहाँका युवामा ठूलो सम्भावना देखेको थिएँ। आज त्यो सम्भावना उपलब्धिमा परिणत भएको देख्दा खुसी लागेको छ। कृत्रिम बुद्धिमत्ताले विश्वभरका उद्योगलाई नयाँ दिशातर्फ अघि बढाइरहेको बेला डिजिटल सीप भएका जनशक्ति उत्पादन गर्नु अत्यन्त आवश्यक भएको छ। सामसुङ इनोभेसन क्याम्पसले युवालाई आवश्यक सीप, आत्मविश्वास र सिर्जनशील सोच प्रदान गर्दै नेपालको डिजिटल भविष्य निर्माणमा योगदान पुर्याइरहेको छ।”
सामसुङले ‘Together for Tomorrow! Enabling People’ भन्ने विश्वव्यापी सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सन् २०२३ देखि नेपालमा सामसुङ इनोभेसन क्याम्पस सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत युवालाई कृत्रिम बुद्धिमत्ता, कोडिङ तथा अन्य उदीयमान प्रविधिसम्बन्धी ज्ञानसँगै सञ्चार, टोलीमा काम गर्ने क्षमता र विश्लेषणात्मक सोचजस्ता व्यावसायिक सीप पनि प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ।
यसैक्रममा कम्पनीले अब कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नयाँ तालिम सुरु गर्न लागेको हो। व्यावहारिक सिकाइ र वास्तविक परियोजनामा आधारित यो कार्यक्रमले सहभागीलाई एआई प्रविधिको प्रयोग, समस्या समाधान र नवप्रवर्तनमा सक्षम बनाउने लक्ष्य राखेको छ। साथै, नेपालको विकास आवश्यकताअनुसार एआईमा आधारित समाधान विकास गर्न युवालाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।
तालिम सम्पन्न भएपछि पनि सहभागीलाई सामसुङका कर्मचारी तथा सूचना प्रविधि क्षेत्रका विज्ञबाट मेन्टरसिप, नवप्रवर्तन परियोजनामा सहभागिता तथा करियर परामर्श उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै, पूर्वविद्यार्थीबीच अनुभव आदान–प्रदान, निरन्तर सिकाइ र भावी सहभागीलाई सहयोग गर्ने उद्देश्यले सामसुङ इनोभेसन क्याम्पस एलुम्नाइ नेटवर्क स्थापना गर्ने तयारीसमेत गरिएको छ।
सामसुङ नेपालका अनुसार नेपालमा कृत्रिम बुद्धिमत्ताको दिगो विकासका लागि शैक्षिक संस्था, निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य छ। यस्तो सहकार्यबाट दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसर विस्तार तथा नेपालको डिजिटल रूपान्तरणलाई तीव्र बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।



























































