काठमाडौं- आगामी तीन दिन देशभर मनसुन पूर्ण रूपमा सक्रिय नहुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार, सोमबार र मंगलबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि व्यापक वा लगातार भारी वर्षाको सम्भावना भने कम रहेको छ।


ADVERTISEMENT


विभागका अनुसार आइतबार देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा रातिको समयमा मौसम बढी सक्रिय रहने अनुमान गरिएको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।


ADVERTISEMENT

# # #


वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार आगामी २४ घण्टाभित्र बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभाग र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।