जनकपुर- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री गीता चौधरीले मधेश प्रदेशमा सिँचाइको दीर्घकालीन व्यवस्थापन, माटोको उर्वराशक्ति संरक्षण तथा दिगो कृषि विकासका लागि विशेष रणनीति तयार पारेर कार्यान्वयन गरिने बताएकी छन्।
आइतबार धनुषा भ्रमणका क्रममा जनकपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र सिँचाइ क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। कृषि उत्पादन वृद्धि, जलस्रोतको प्रभावकारी उपयोग र किसानको आम्दानी बढाउन कृषि तथा सिँचाइ मन्त्रालयबीच समन्वय गरेर साझा कार्ययोजना बनाइने उनले बताइन्।
उनले सिँचाइ सुविधा विस्तारसँगै जल व्यवस्थापन, आधुनिक खेती प्रणाली र प्रविधिको प्रयोगलाई एकैसाथ अघि बढाउन सके मात्र कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा राखिन्।
मन्त्री चौधरीले मधेश प्रदेशमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगका कारण माटोको जैविक गुणस्तर र उर्वराशक्ति क्रमशः घट्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्। यसले उत्पादन क्षमता मात्रै होइन, दीर्घकालीन खाद्य सुरक्षामा समेत असर पार्न सक्ने भएकाले अब जैविक र प्राङ्गारिक खेतीलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिने उनले स्पष्ट पारिन्।
माटो संरक्षण र सुधारलाई प्रभावकारी बनाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि आधुनिकीकरण परियोजनाको सहकार्यमा १० वटा नमुना पालिका छनोट गरी ‘माटो सुधार परियोजना’ सञ्चालन गरिने उनले घोषणा गरिन्। उक्त परियोजनामार्फत माटो परीक्षण, पोषण व्यवस्थापन, जैविक मलको प्रयोग र किसानलाई आवश्यक प्राविधिक सेवा उपलब्ध गराइने अपेक्षा गरिएको छ।
कार्यक्रममा मन्त्री चौधरीले मधेश प्रदेशको जैविक विविधता संरक्षण र पर्यटन प्रवर्द्धनलाई समेत ध्यानमा राख्दै धनुषाको संरक्षित क्षेत्रलाई समेटेर प्राणी उद्यान (जु) निर्माण गर्ने अवधारणामा मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन्। यसका लागि प्राविधिक टोलीबाट अध्ययन भइरहेको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने उनले बताइन्।
धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले माछापालन व्यवसायी, आँप उत्पादक किसान तथा सहकारी संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या, कृषि प्रविधिको पहुँच, गुणस्तरीय बीउबिजनको उपलब्धता, बजार व्यवस्थापन तथा उत्पादन लागतका विषयमा जानकारी लिएकी थिइन्।
उनले किसानका सुझावका आधारमा कृषि नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै उत्पादनमुखी, व्यावसायिक र दिगो कृषि प्रणाली विकास गर्नु सरकारको प्राथमिकतामा रहेको बताइन्। मन्त्री चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ पूर्वाधार विस्तार र माटो संरक्षणलाई एकसाथ अघि बढाएर मधेश प्रदेशलाई कृषि उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारिन्।



























































