झापा- झापाको बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुल ले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ ‘एरो बे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ सञ्चालनमा ल्याएको छ।
विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच विद्यालयका संस्थापक तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत को अध्यक्षता तथा पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराईको प्रमुख आतिथ्यमा प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको हो।
करिब ४० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको प्रयोगशालाले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान, सिर्जनशीलता र नवप्रवर्तनको क्षमता विकास गर्न सहयोग पुग्ने विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतले बताए।
उनका अनुसार विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञान विद्यालय तहदेखि नै विद्यार्थीमा विकास गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो।
विद्यालयका कोअर्डिनेटर वर्नाट लामाले प्रयोगशालामार्फत विद्यार्थीहरूले रोबोट निर्माण, कोडिङ, कृत्रिम बुद्धिमत्ता, डिजाइन थिंकिङ, स्वचालन प्रविधि तथा समस्या समाधानसम्बन्धी व्यावहारिक सीप हासिल गर्ने जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक गोपालकुमार बस्नेतले अहिलेको शिक्षा प्रणाली केवल पाठ्यपुस्तकमा सीमित हुन नसक्ने उल्लेख गर्दै भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न विद्यार्थीलाई सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए। उनले प्रयोगशाला विद्यार्थीहरूको कल्पनाशक्ति र नवप्रवर्तनलाई व्यवहारमा उतार्ने थलो बन्ने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि डा. शरद भट्टराईले आधुनिक शिक्षामा गरिएको यस्तो लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै विद्यालयले अन्तर्राष्ट्रियस्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा निरन्तर काम गर्ने अपेक्षा गरे।
विद्यालयका अनुसार प्रयोगशालामा विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, प्रोग्रामिङ, कृत्रिम बुद्धिमत्ता, इलेक्ट्रोनिक्स तथा स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागिता जनाउनेछन्। साथै उद्घाटन समारोहका अवसरमा एरो बे रोबोटिक्सको प्रयोगात्मक प्रदर्शनअन्तर्गत एरोप्लेनदेखि रकेटसम्मको सफल उडान गराएर विद्यार्थी तथा अभिभावकलाई आधुनिक प्रविधिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। विद्यालयले आगामी दिनमा पनि प्रविधिमैत्री शिक्षालाई विस्तार गर्दै विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




























































