काठमाडौं – इन्टर्न चिकित्सकहरूको पारिश्रमिक र श्रमको सम्मान सुनिश्चित गर्न माग गर्दै इन्टर्न चिकित्सक डिल्ली हरिजनले मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन्।
हरिजनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित निकायसँग चार महिनादेखि निरन्तर संवाद गरे पनि कुनै ठोस निर्णय नभएपछि अन्तिम विकल्पका रूपमा अनसन रोज्नुपरेको बताए। उनले शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गरी ‘समान कामको समान पारिश्रमिक’ लागू गर्न सरकारसँग माग गरेका छन्।
उनले प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीसँग पटक–पटक छलफल भए पनि निजी मेडिकल कलेजहरूको दबाबका कारण सरकारले मागलाई बेवास्ता गरेको आरोप लगाए। इन्टर्न चिकित्सक र मेडिकल विद्यार्थीको भविष्य अन्योलमा परेको उल्लेख गर्दै सरकारले प्रतिवेदनका आधारमा तत्काल निर्णय लिनुपर्ने उनको माग छ।



























































